काठमाडौँ । आगामी फागुन २१ गते (मार्च ५, २०२६) हुने निर्वाचनका दिन हवाई यात्रुहरूको आवागमनलाई सहज बनाउन नेपाल पर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने भएको छ। सवारी आवागमनमा हुन सक्ने कडाइलाई मध्यनजर गर्दै बोर्डले बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म यो सेवा उपलब्ध गराउने जनाएको छ।
बोर्डका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उपत्यकाका मुख्य पर्यटकीय होटल र स्थानहरूलाई जोड्ने गरी तीनवटा छुट्टाछुट्टै मार्ग (रुट) तय गरिएको छ:
१. पहिलो मार्ग: विमानस्थल–गौशाला–दरबारमार्ग–ठमेल–नयाँबजार–लाजिम्पाट–कान्तिपथ–न्युरोड हुँदै पुनः विमानस्थल। (समन्वय: रामबहादुर नगरकोटी, बस नं. बा १ प १३७८) २. दोस्रो मार्ग: विमानस्थल–गौशाला–चाबहिल–बौद्ध–धुम्बाराही–महाराजगञ्ज–नारायणथान हुँदै पुनः विमानस्थल। (समन्वय: पवन गिरी, बस नं. बा १ प १३२०) ३. तेस्रो मार्ग: विमानस्थल–तीनकुने–बानेश्वर–थापाथली–कुपण्डोल–जावलाखेल–सातदोबाटो–कलंकी–सोल्टीमोड हुँदै पुनः विमानस्थल। (समन्वय: सुरज खड्गु, बस नं. बा १ प १०८१)
बोर्डका निमित्त निर्देशक सुनील शर्माले निर्वाचनका दिन हवाई टिकट र राहदानी (Passport) भएका यात्रुहरूले यो सेवा निःशुल्क उपयोग गर्न सक्ने जानकारी दिनुभएको छ। यसले पर्यटक तथा स्वदेशी यात्रुहरूलाई समयमै विमानस्थल पुग्न र आफ्नो गन्तव्यसम्म सुरक्षित रूपमा पुग्न ठुलो मद्दत पुग्ने विश्वास बोर्डको छ।





