काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध सम्बन्धी मुद्दा फिर्ता लिने सरकारी निर्णयमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। आइतबार हेर्न नभ्याइएपछि न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उक्त मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखेर आजका लागि पेशी तोकेको हो।
यसअघि न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले यस निवेदनलाई गम्भीरतापूर्वक लिँदै नियमित सुनुवाइका लागि आइतबारको मिति तय गरेको थियो। अघिल्लो सरकारको पालामा लामिछानेमाथि लगाइएका यी गम्भीर मुद्दाहरूलाई महान्यायाधिवक्ता सविता भण्डारी बरालले फिर्ता लिने निर्णय गरेकी थिइन्।
सरकारको उक्त कदम कानुनसम्मत नभएको जिकिर गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता आभास रेग्मी र युवराज पौडेलले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका थिए। यी रिटहरूमाथि हुने आजको बहसले लामिछानेको कानुनी भविष्य र सरकारी निर्णयको वैधतामाथि महत्वपूर्ण व्याख्या गर्ने अपेक्षा गरिएको छ।







