जेनजी आन्दोलनपछिको अन्योल चिर्दै निर्वाचन सफल भयो: कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले ‘जेनजी’ आन्दोलनपछिको जटिल परिस्थिति र सबै पक्षसँगको सकारात्मक संवादका कारण फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन सफल भएको बताउनुभएको छ। बिहीबार निर्वाचन आयोगको प्राङ्गणमा समानुपातिक निर्वाचन प्रणालीतर्फ नवनिर्वाचित ११० जना सांसदहरूलाई प्रमाणपत्र वितरण गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो।

समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनका क्रममा उत्पन्न अन्योल र विभिन्न प्राविधिक तथा राजनीतिक अप्ठ्याराहरूलाई पार लगाउँदै निर्धारित समयमै चुनाव सम्पन्न गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले यस प्रक्रियामा सहयोग पुर्‍याउने सबै पक्षलाई धन्यवाद दिँदै यो निर्वाचन सामान्य आवधिक निर्वाचन मात्र नभई विशेष परिस्थितिमा भएको स्पष्ट पार्नुभयो। “यो भदौ २३ र २४ को विद्रोहपछि संविधानको संरक्षणका लागि राष्ट्रपतिले घोषणा गरेको निर्वाचन थियो,” उहाँले भन्नुभयो।

भण्डारीले राजनीतिक कटुता र निषेधको आशङ्काबीच आयोगले निर्वाचन कार्यतालिका बनाएको स्मरण गर्दै मुलुकका लागि निर्वाचनको विकल्प नरहेको बताउनुभयो। आयोगले सबै सरोकारवाला पक्षलाई बोलाएर गरेको निरन्तर छलफल र संवादकै परिणाम स्वरूप आज सांसदहरूले प्रमाणपत्र प्राप्त गर्न सफल भएको उहाँको भनाइ थियो। उहाँले निर्वाचनले भड्किएको राजनीतिक मनस्थितिलाई लयमा ल्याउन ठुलो भूमिका खेलेको समेत उल्लेख गर्नुभयो।

नवनिर्वाचित सांसदहरूलाई बधाई दिँदै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले अबको जिम्मेवारी विधान बनाउने र मुलुक सञ्चालनका लागि ठोस नीति निर्माण गर्नेमा केन्द्रित हुनुपर्ने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले नयाँ जनप्रतिनिधिहरूको आगमनले देशमा देखिएको राजनीतिक संक्रमण अन्त्य हुने र लोकतान्त्रिक मूल्यमान्यता थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा