काठमाडौँ । मुलुकभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (आइतबार) देशभरको मौसम साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका हिमाली, पहाडी तथा तराई भू-भागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने तथा पाँचवटा प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडी भू-भागका धेरै स्थानमा मध्यम वर्षा हुनेछ। त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। विशेष गरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। रातिको समयमा देशका हिमाली भू-भागका थोरै स्थानमा हिमपात र वर्षा हुनेछ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ। यसका साथै कोशी प्रदेशको तराई क्षेत्रका केही स्थान, मधेश, बागमती र गण्डकीको तराईका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिमको तराई भू-भागका एक-दुई स्थानमा वर्षा हुन सक्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।





