मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाउँदै इद उल फित्र, दान र आशीर्वादको पर्व

काठमाडौँ । अरबी पात्रो हिजरी संवतको नवौँ महिना ‘रमजान’ मा एक महिना लामो निराहार व्रत (रोजा) पूरा गरी देशभरका मुस्लिम समुदायले आज ‘इद उल फित्र’ पर्व हर्षोल्लासका साथ मनाउँदै छन्। आज बिहान देशभरका मस्जिद र इदगाहहरूमा विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिने र आपसमा खुसी साटासाट गर्ने क्रम सुरु भएको छ। नमाज पाठ गरेपछि तीन दिनसम्म आफन्त तथा मान्यजनकहाँ गएर आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने परम्परा छ।

यस पर्वको अवसरमा आशीर्वाद लिन आउने पाहुना तथा आफन्तलाई सेवई, खजुर जस्ता मीठा परिकार ख्वाउने चलन छ। खुसीपूर्वक दान गरेर दीन दुःखी र गरिबलाई बाँडिने भएकाले यस पर्वलाई इद उल फित्र भनिएको हो। मुस्लिम धर्मावलम्बी एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारका अनुसार, नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने निश्चित हुन्छ।

आज बिहान काठमाडौँको घण्टाघरस्थित नेपाली जामे मस्जिदमा विशेष नमाज पाठ गरिएको छ। त्यसपछि ठूलाबडाकहाँ आशीर्वाद लिने क्रम सुरु भएको छ। सोही स्थानमा रहेको काश्मि मस्जिदलगायत देशभरका मस्जिद र इदगाहहरूमा पनि विशेष कार्यक्रमका साथ नमाज पाठ भइरहेको छ। मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख भएअनुसार, यस पर्वमा एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान छ, जसलाई ‘जकात’ भनिन्छ। यस्तो दान दीन दुःखी र गरिबलाई बाँडिन्छ।

यसका साथै, इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन्, जसलाई ‘सत्कार फितर’ भनिन्छ। यो दान आमाको पेटमा रहेको बच्चाको नाममा पनि गरिनुपर्ने नियम छ। यो दान पनि दीन दुःखी र गरिबलाई नै दिइन्छ। आजभन्दा एक महिना अघिदेखि सुरु भएको रोजा व्रत हिजो चन्द्रमा देखिएपछि सकिएको हो। एक वर्षभित्र गरेका पाप कटाउन यो व्रत गरिने विश्वास छ।

यस पर्वका अवसरमा मुस्लिम समुदायले नयाँ कपडा लगाइ साथीभाइकहाँ गएर इदको शुभकामना आदानप्रदान गर्छन्। इद उल फित्रको यस पावन अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ। देशभरका मुस्लिम समुदायमा आजको दिनलाई भ्रातृत्व, सद्भाव र दानको पर्वका रूपमा विशेष महत्त्वका साथ मनाइन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा