काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्व रामनवमीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस्ता पर्वले विविध जातजाति, भाषाभाषी र भौगोलिक क्षेत्रका नेपालीबीच आपसी विश्वास, सद्भाव र सहिष्णुताको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ।
हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मदिनका रूपमा ‘रामनवमी’ पर्व हर्षोल्लासका साथ मनाउने परम्परा छ। राष्ट्रपति पौडेलले शताब्दीयौँदेखि प्रचलनमा रहेका हाम्रा यस्ता मौलिक पर्वहरूले प्राचीन सभ्यता, धर्म र संस्कृतिको जगेर्ना गर्न मद्दत पुर्याउने बताउनुभएको छ। उहाँले यस पावन पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति र भाइचाराको भावना अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामनासमेत गर्नुभएको छ।
रामनवमीलाई असत्यमाथि सत्यको विजय र अधर्मको पराजय भई धर्मको स्थापना भएको खुसीयालीको दिवसका रूपमा पनि लिइन्छ। यस दिन भगवान् श्रीरामको विशेष पूजा–अर्चना, व्रत र अनुष्ठान गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ। आजको दिन देशभरका राम मन्दिरहरूमा भक्तजनको घुइँचो लाग्ने गर्दछ भने विशेष गरी जनकपुरधामस्थित ऐतिहासिक रामजानकी मन्दिरमा भव्य मेला लाग्ने गर्दछ।
राष्ट्रपति पौडेलले हाम्रो बहुसांस्कृतिक पहिचान नै नेपालीको मौलिकता भएको उल्लेख गर्दै यस्ता चाडपर्वले सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउने अपेक्षा राख्नुभएको छ।





