काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य मनिष झाले सदनमा जनताको आवाजलाई उपेक्षा गरिए परिणाम भयावह हुने चेतावनी दिनुभएको छ। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले सदन जनताको प्रश्न उठाउने थलो भएको र यसको अस्तित्व कायम नभए जनता आफैँ सदनभित्र प्रवेश गर्ने परिस्थिति निर्माण हुने बताउनुभयो।
“सदनमा जनताको प्रश्नको अस्तित्व हुँदैन भने त्यहाँ जनता आफैँ छिर्छन्,” झाले भन्नुभयो, “त्यो भदौ २३ र २४ गतेको ‘जेनजी’ (Gen-Z) आन्दोलनले देखाइसकेको छ, हाम्रा सहकर्मी साथीहरूले यो कुरा सम्झिरहनुहोला।” विगतमा सदन बालुवाटार, बूढानीलकण्ठ, बालकोट र खुमलटार जस्ता शक्ति केन्द्रहरूको इसारामा चल्न खोज्दा नै जनतामा विद्रोहको भावना जागेको र ऐतिहासिक आन्दोलन भएको उहाँको तर्क थियो।
नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्याललाई कार्यकालको शुभकामना दिँदै झाले संसद्लाई दलगत स्वार्थभन्दा माथि उठाएर स्वतन्त्र बनाउन आग्रह गर्नुभयो। सत्तापक्षले सदनमा दम्भ देखाउँदा ‘जेनजी’ आन्दोलन जस्तो जनविद्रोह हुने खतरा सधैँ रहने उल्लेख गर्दै उहाँले सभामुखले उदारता, लोकतान्त्रिक संस्कार र जनतालाई विश्वास दिलाउने गरी कार्य गर्नुपर्नेमा जोड दिनुभयो।
बालेन्द्र शाह नेतृत्वको सरकार र नयाँ राजनीतिक समीकरणमा रास्वपाले सदनलाई जनउत्तरदायी बनाउने अभियानलाई प्राथमिकतामा राखेको झाको सम्बोधनले प्रष्ट पारेको छ। उहाँले संसद् अब पुराना शक्ति केन्द्रहरूको घेराबन्दीबाट मुक्त हुनुपर्ने र जनताका वास्तविक समस्याको प्रतिध्वनि सदनमा सुनिनुपर्ने माग समेत गर्नुभयो।





