काठमाडौँ । नेकपा (एमाले) का सांसद ऐनबहादुर महरले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल बिना सर्त रिहा गर्न सरकारसँग जोडदार माग गर्नुभएको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद महरले सरकारले प्रतिशोध र पूर्वाग्रहको राजनीति गरिरहेको आरोप लगाउनुभयो।
“जेनजी (Gen-Z) आन्दोलनको बहानामा पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई गैरकानुनी र गैरन्यायिक ढङ्गले पक्राउ गरिएको छ,” महरले भन्नुभयो, “लोकतन्त्रमा पूर्वाग्रह र प्रतिशोधको कुनै स्थान हुँदैन। विधिको शासन स्थापना गर्न सबैमाथि समान व्यवहार हुनुपर्छ।” उहाँले राजनीतिक नेतृत्वमाथि गरिएको यो प्रहारले लोकतान्त्रिक प्रणालीलाई नै कमजोर बनाउने तर्क गर्नुभयो।
सम्बोधनका क्रममा सांसद महरले बालेन्द्र शाह नेतृत्वको सरकारले अघि सारेको ‘शासकीय सुधार’ सम्बन्धी कार्यसूचीमा पनि कडा आपत्ति जनाउनुभयो। विशेष गरी सरकारले विद्यार्थी सङ्गठन र ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउने वा खारेज गर्ने तयारी गरेको भन्दै उहाँले सो निर्णय तत्काल फिर्ता लिन माग गर्नुभयो। “विद्यार्थी आन्दोलन नेपालको लोकतान्त्रिक आन्दोलन र व्यवस्थाको मूल मर्म हो। यसलाई निषेध गर्ने कार्य स्वीकार्य छैन,” उहाँले चेतावनी दिनुभयो।
अध्यक्ष ओली हाल स्वास्थ्य उपचारका क्रममा अस्पतालमा र नेता लेखक हिरासतमा रहेको सन्दर्भमा एमालेले संसद्मा आफ्नो विरोधलाई थप सशक्त बनाएको छ। महरले सरकारलाई आफ्ना कदमहरू सच्याएर राजनीतिक संवादको वातावरण बनाउन समेत आग्रह गर्नुभएको छ।





