एक महिना पुग्न लाग्दा पनि नेकपा संयोजन समितिको निष्कर्ष आएन: नेतृत्व पुस्तान्तरण र कार्यविभाजनमा अलमल

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक सुरु भएको एक महिना पुग्न लाग्दा पनि कुनै ठोस निर्णय आउन सकेको छैन। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले लज्जास्पद परिणाम व्यहोरेपछि सुरु भएको समीक्षा बैठक आन्तरिक विवाद र शक्ति सङ्घर्षका कारण लम्बिएको हो। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत १९ गते बोलाएको बैठकमा पेस गरिएको निर्वाचन समीक्षा प्रतिवेदनमाथि ४० भन्दा बढी सदस्यले धारणा राखे पनि पार्टीको भावी दिशा र नेतृत्वको मोडालिटीमा सहमति जुट्न सकेको छैन।

बैठकमा विशेषगरी नेतृत्व हस्तान्तरण र युवा सहभागिताको विषय मुख्य विवादको जड बनेको छ। पार्टीभित्र युवा नेताहरू दुई समूहमा विभाजित भएका छन्। युवराज दुलाल, माधव सापकोटा र सरल सहयात्रीलगायतका नेताहरूले पार्टीलाई निश्चित विधि र पद्धतिमा ढालेर मात्र नेतृत्व हस्तान्तरण गर्नुपर्ने तर्क गरेका छन् भने रामप्रसाद सापकोटा र रञ्जित तामाङ लगायतका युवाहरूले ‘पुराना नेताबाट पार्टी चल्न नसक्ने’ भन्दै तत्काल नेतृत्व छोड्नुपर्ने दबाब दिइरहेका छन्। केही विद्यार्थी नेताहरूले त केन्द्रदेखि तल्लो तहसम्म ६० प्रतिशत युवा हुनुपर्ने माग राख्दै पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा अनसन समेत सुरु गरेका छन्।

यसैबिच, संयोजन समिति सदस्य चक्रपाणि खनाल ‘बलदेव’ ले पार्टी सुधारका लागि चार बुँदे प्रस्ताव अघि सार्नुभएको छ। उहाँको प्रस्तावमा माधव नेपाल र झलनाथ खनाललाई सल्लाहकार, तथा प्रचण्ड र नारायणकाजी श्रेष्ठलाई संरक्षकको भूमिकामा राख्ने उल्लेख छ। त्यस्तै, सक्रिय तेस्रो पुस्तालाई को–अर्डिनेसनको जिम्मा दिने र चौथो पुस्ता अर्थात् युवाहरूलाई प्रदेश इन्चार्ज वा अध्यक्ष बनाएर जिम्मेवारी दिने मोडालिटी उहाँले प्रस्तुत गर्नुभएको छ। बलदेवले अहिलेको चुनाव ‘डिजिटल वार’ भएको र आफूहरू ‘म्यानुअल वार’ मा रहेकाले पराजित हुनुपरेको निष्कर्ष निकाल्दै पार्टीको आमूल पुनर्गठन अनिवार्य रहेको बताउनुभएको छ।

शनिबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै अन्तिम समयमा स्थगित गरिएको छ। केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनका अनुसार नेताहरूको कार्यविभाजन, केन्द्रीय सचिवालय गठन र भावी कार्यक्रमबारे थप गृहकार्य आवश्यक देखिएकाले बैठक आगामी वैशाख १० गतेका लागि सारिएको छ। विधानअनुसार केन्द्रीय समितिलाई पूर्णता दिने कि महाधिवेशनको मिति घोषणा गरेर जाने भन्नेमा शीर्ष नेताहरू नै विभाजित हुँदा नेकपाको आन्तरिक संकट थप गहिरिएको देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा