काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष निर्वाचित सांसद नरहेका निर्वाचन क्षेत्रहरूमा समानुपातिक तर्फका सांसदहरूलाई संगठनात्मक जिम्मेवारी तोक्ने महत्त्वपूर्ण निर्णय गरेको छ। आइतबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले पार्टीको प्रभाव विस्तार र जनसम्पर्कलाई प्रभावकारी बनाउन यस्तो रणनीति अख्तियार गरेको हो। यो निर्णयसँगै अब प्रत्येक निर्वाचन क्षेत्रले कुनै न कुनै सांसदको प्रत्यक्ष अभिभावकत्व पाउने निश्चित भएको छ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार, कुन सांसदले कुन जिल्ला वा निर्वाचन क्षेत्रको जिम्मेवारी पाउने भन्ने विस्तृत सूची तयार भइसकेको छ। उक्त सूचीलाई भोलि सोमबार बस्ने केन्द्रीय समितिको बैठकबाट औपचारिक रूपमा पारित गर्ने योजना रहेको छ। रास्वपाले यस कदममार्फत प्रत्यक्ष निर्वाचित सांसद नभएका क्षेत्रका मतदाताका समस्या संसद्मा उठाउन र पार्टीको संगठनलाई वडा तहसम्म पुर्याउन सहज हुने विश्वास लिएको छ।
बैठकले साङ्गठनिक सुदृढीकरणका लागि समानुपातिक सांसदहरूको भूमिकालाई थप क्रियाशील बनाउने गरी कार्यविधि समेत तय गरेको छ। आगामी वैशाख १५ गतेदेखि सुरु हुने जिल्ला अधिवेशन अगावै सांसदहरूलाई कार्यक्षेत्रमा खटाएर चुनावी र साङ्गठनिक माहोल बनाउने रास्वपाको तयारी छ। भोलिको केन्द्रीय समिति बैठकले योसँगै सचिवालयले सिफारिस गरेका अन्य साङ्गठनिक एजेन्डाहरूमा पनि अन्तिम निर्णय लिनेछ।




