काठमाडौं । धितोपत्र बजारमा साताको दोस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ।
अघिल्लो दिन १३.१७ अंकले घटेको सेयर बजार मापक नेप्से परिसूचक आज थप १७.९१ अंकले ओरालो लागेर २८०७.३१ बिन्दुमा झरेको छ।
परिसूचक घटे पनि यसदिन कारोबार रकममा भने केही सुधार आएको छ। मंगलबार ३४७ कम्पनीका १ करोड ३० लाख १९ हजार ५५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड ४३ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्लो दिनको ५ अर्ब ४३ करोडको तुलनामा केही बढी हो।
बजारमा आएको समग्र मन्दीका बीच होटल तथा पर्यटन समूहबाहेक अन्य सबै उपसमूहका सूचकहरू राताम्मे देखिएका छन्। आज होटल तथा पर्यटन समूह १.१६ प्रतिशतले बढ्दा अन्य उपसमूह १.२७ प्रतिशत, जलविद्युत् १.२३ प्रतिशत र वित्त समूह १.०९ प्रतिशतले घटेका छन्। मंगलबार कुल २१५ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा केवल ४८ कम्पनीको मूल्यमा मात्र वृद्धि भएको छ।
समग्र बजार ओरालो लागे पनि केही निश्चित कम्पनीका लगानीकर्ताले भने उत्साहजनक नाफा कमाएका छन्। यसदिन सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकको सेयर मूल्य १५ प्रतिशतले बढेको छ भने पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावरको मूल्यमा १४.९९ प्रतिशतको वृद्धि देखिएको छ। यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि १४.८२ प्रतिशतले उकालो लागेको छ।





