गृहमन्त्री गुरुङ प्रकरणमा एमालेको कडा अडान: उच्चस्तरीय छानबिन संयन्त्र गठन र मार्गप्रशस्त गर्न माग

काठमाडौँ । नेकपा एमालेले गृहमन्त्री सुधन गुरुङ र विवादित व्यवसायी दीपक भट्टबीचको आर्थिक सम्बन्धका विषयमा निष्पक्ष छानबिन गर्न उच्चस्तरीय संयन्त्र गठनको माग गरेको छ। मंगलबार एमालेका प्रेस संयोजक मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा गृहमन्त्रीसँग जोडिएर आएका तथ्यहरूले गम्भीर अनियमितताको सङ्केत गरेको उल्लेख गर्दै यसमा तत्काल स्वतन्त्र अनुसन्धान सुरु गर्न सरकारसँग जोडदार माग गरिएको हो।

एमालेले गृहमन्त्री गुरुङमाथि लागेका आरोपहरूले विगतका सम्भावित भ्रष्टाचार र विसङ्गतिहरू उजागर गर्ने सङ्केत गरेको दाबी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अनुसन्धानलाई कुनै पनि प्रकारको शक्ति वा प्रभावबाट मुक्त राखेर अगाडि बढाइनुपर्छ। यसका लागि उच्चस्तरीय संयन्त्र गठन गरी तत्काल सत्यतथ्य बाहिर ल्याउनुपर्दछ।”

प्रमुख प्रतिपक्षी दल कांग्रेसले जस्तै एमालेले पनि गृहमन्त्रीको पदमा बहाल रहँदा अनुसन्धान प्रभावित हुन सक्ने भन्दै उहाँलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ। एमालेले कुनै पनि प्रकारको ढिलासुस्ती वा ढाकछोप नगरी अनुसन्धान प्रक्रियालाई सहज र निष्पक्ष बनाउन गृहमन्त्री स्वयं अघि सर्नुपर्ने धारणा सार्वजनिक गरेको छ। पछिल्लो समय सत्ता साझेदार र प्रतिपक्षी दुवैतर्फबाट गृहमन्त्री गुरुङको राजीनामा र छानबिनको दबाब तीव्र बन्दै गएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा