ऐतिहासिक जनआन्दोलनको सफलता: आज देशभर २० औँ लोकतन्त्र दिवस मनाइँदै

काठमाडौँ । जनआन्दोलन २०६२/६३ को सफलता स्वरूप प्राप्त लोकतन्त्रको सम्झनामा आज देशभर २० औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलहरूको मार्गचित्रबमोजिम विघटित संसद् पुनर्स्थापना गरेको ऐतिहासिक दिनको स्मरणमा विसं २०६४ देखि यो दिवस मनाउन थालिएको हो।

नेपालको राजनीतिक इतिहासमा विसं २०५९ जेठ ८ गते संसद् विघटन भएपछि सुरु भएको अस्थिरता र राजाको प्रत्यक्ष शासनको शृङ्खला वैशाख ११ को घोषणासँगै अन्त्य भएको थियो। राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्दै हटाउँदै गरेपछि २०६१ माघ १९ गते शासन सत्ता पूर्णतः आफ्नै हातमा लिएका थिए। राजाको उक्त कदमपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी) बिच २०६२ मङ्सिरमा भएको १२ बुँदे समझदारीले आन्दोलनलाई निर्णायक मोड दिएको थियो।

तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलन चैतमा पुग्दा देशव्यापी बन्यो। नयाँ वर्ष २०६३ को सुरुवातसँगै लाखौँ जनता सडकमा उत्रिएर चक्रपथ मानव सागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको माग सम्बोधन गर्न बाध्य भएका थिए। वैशाख ११ गते राति राजाले संसद् पुनर्स्थापनाको घोषणा गर्दै बैठक आह्वान गरेसँगै जनताको जित भएको थियो। यही दिनलाई नै नेपालमा गणतन्त्रको बलियो जगका रूपमा लिइन्छ।

संसद् पुनर्स्थापनापछि २०६३ जेठ ४ गते बसेको बैठकले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरेको थियो। उक्त ऐतिहासिक घोषणालाई नेपाली म्याग्नाकार्टा समेत भनिन्छ। सोही जगमा विसं २०६४ मा पहिलो संविधानसभा निर्वाचन भयो भने २०६५ जेठ १५ गतेको पहिलो बैठकले २४० वर्ष लामो राजसंस्थाको विधिवत् अन्त्य गरी नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो।

दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते नयाँ संविधान जारी भएपछि नेपालमा सङ्घीयता कार्यान्वयनमा आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा