हिजो उत्कृष्ट ठहरिएका कास्कीका प्रहरी हवलदार आज घुससहित रङ्गेहात पक्राउ

काठमाडौँ । हिजो मात्रै उत्कृष्ट कार्यसम्पादनको प्रशंसा पाउँदै सम्मानित भएका जिल्ला प्रहरी कार्यालय कास्कीका वरिष्ठ हवलदार विष्णु थापा क्षेत्री शनिबार साँझ घुससहित रङ्गेहात पक्राउ परेका छन्। लागूऔषध सम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

सहकारी ठगी र सङ्गठित अपराधको अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै २०८१ पुसमा कास्की प्रहरीबाट सम्मानित भएका थापाले ३ लाख रुपैयाँको डिल गरी पहिलो किस्तावापत ५० हजार बुझ्दै गर्दा पक्राउ परेका हुन्। मुद्दा फाँटमा कार्यरत उनले पटक-पटक सेवाग्राहीलाई दुःख दिने, फाइल लुकाइदिने र बार्गेनिङ गर्ने गरेको आरोप लाग्दै आएको थियो।

स्रोतका अनुसार उनीविरुद्ध यसअघि पनि अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र र प्रधानमन्त्री कार्यालयसम्म उजुरी परेका थिए। दरबन्दी प्रहरी चौकी अरुणखोलामा भए पनि पहुँचका भरमा लामो समयदेखि कास्कीको मुद्दा फाँटमा काजमा कार्यरत थापामाथि थप अनुसन्धान भइरहेको अख्तियार कार्यालय पोखराले जनाएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा