बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरान युद्ध र अन्य महत्त्वपूर्ण भू-राजनीतिक विषयमा छलफल गर्न बुधबार साँझ बेइजिङ पुग्दैछन्। उनले त्यहाँ चिनियाँ समकक्षी सी जिनपिङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। ह्वाइट हाउसकी प्रमुख उप-प्रेस सचिव अन्ना केलीका अनुसार बिहीबार बिहान उद्घाटन समारोह र मुख्य बैठक हुनेछ भने ट्रम्पको यो भ्रमण शुक्रबार समापन हुनेछ। अमेरिकाले यसै वर्षको अन्त्यतिर चिनियाँ नेता सीलाई पनि आफ्नो देशमा स्वागत गर्ने योजना बनाएको छ।
यस भ्रमणका क्रममा ट्रम्पले चीनसँगको सम्बन्धलाई सन्तुलनमा ल्याउने, पारस्परिकता र निष्पक्षतालाई प्राथमिकता दिने तथा अमेरिकी आर्थिक स्वतन्त्रतालाई पुनः स्थापना गर्ने कुरामा केन्द्रित हुने उल्लेख गरिएको छ। अमेरिका र इजरायलले इरानमाथि गरेको युद्धका कारण मार्च महिनामा स्थगित भएको यो भ्रमण अहिलेको तनावपूर्ण परिस्थितिमा निकै महत्त्वपूर्ण मानिएको छ। इरानले स्ट्रेट अफ होर्मुज बन्द गरेपछि विश्वव्यापी ऊर्जा ढुवानीमा परेको असर र त्यसबाट प्रभावित विश्व अर्थतन्त्रका विषयमा दुई नेताबीच गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।
ट्रम्पले विशेष गरी इरानको तेल बिक्री र सैन्य-नागरिक प्रयोजनमा आउने सामानको खरिदका विषयमा चीनमाथि दबाब दिन सक्नेछन्। चीनले इरानको ऊर्जा खरिद गरेर उसलाई सहयोग पुर्याइरहेको अमेरिकी आरोपका बीच बेइजिङले भने इरानमाथिको एकपक्षीय प्रतिबन्धलाई मान्यता दिन अस्वीकार गर्दै आएको छ। वार्ताका क्रममा रुस-चीन सम्बन्ध, व्यापार, दुर्लभ खनिज पदार्थ र ताइवानको विषयमा पनि चर्चा हुनेछ। अमेरिकी प्रतिनिधिमण्डलसँगै बोइङ लगायतका ठूला कृषि कम्पनीका प्रमुख कार्यकारीहरू पनि सहभागी हुँदैछन्।



