सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको वर्तमान राजनीति र सरकार सही दिशामा अगाडि नबढेको दाबी गरेका छन्। आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमाथि विभिन्न संशय र प्रश्नहरू उब्जिएकाले आफूहरूले समर्थन गर्न नसक्ने स्पष्ट पारे। देशमा सुकुम्बासी समस्या, ट्रेड युनियन तथा विद्यार्थीका मुद्दाहरू अझै गम्भीर रूपमा बल्झिरहेको भन्दै उनले सरकारले यी विषयमा चासो नदिएको आरोप लगाए।
संयोजक प्रचण्डले सरकारले अघि बढाउन खोजेको संविधान संशोधनको बहस पत्र पारदर्शी नभएको र यो आफैँमा एउटा संकास्पद विषय बनेको टिप्पणी गरे। संसद्मा झन्डै दुई-तिहाइ बहुमतको समर्थन हुँदाहुँदै पनि नियमित प्रक्रिया छाडेर अध्यादेशको बाटो रोज्नुले प्रधानमन्त्री शाहको नियत सफा नदेखिएको उनको भनाइ थियो। संसद्लाई छलेर अध्यादेश ल्याउने सरकारको कदम लोकतान्त्रिक मूल्य मान्यता विपरीत र लाजमर्दो भएको भन्दै उनले यसको संसद् र सडक दुवै ठाउँबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिए।
सुरुवाती दिनमा सरकारका कतिपय एजेन्डाहरू सकारात्मक देखिए पनि पछिल्ला गतिविधिहरू जनविरोधी हुँदै गएकाले अब विरोध र प्रतिवादको विकल्प नरहेको प्रचण्डले उल्लेख गरे। आफूले संसद्मार्फत सरकारलाई सच्चिन र सतर्क हुन सुझाव दिइसकेको बताउँदै उनले यदि सरकारले यी जनसरोकारका विषयलाई गम्भीरतापूर्वक लिएन भने सबै क्षेत्रबाट कडा प्रतिवादको सामना गर्नुपर्ने स्थिति आउने चेतावनी समेत दिएका छन्।





