सरकार संसद्प्रति जवाफदेही भएन, प्रश्न सोध्न नदिनु लोकतन्त्रमा कालोधब्बा: हर्कराज राई (साम्पाङ)

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ) ले सरकार र प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको भन्दै गम्भीर आपत्ति जनाएका छन्। बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद राईले वर्तमान सरकारले संसदीय मर्यादाको ठाडो उल्लंघन गरेको र जनताको मतद्वारा निर्मित संसद्लाई पूर्ण रूपमा बेवास्ता गरेको आरोप लगाए। प्रधानमन्त्री र विभागीय मन्त्रीहरू सदनमा उपस्थित नहुनुले विधिको शासन संकुचित हुँदै गएको उनको भनाइ छ।

विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र अन्य मन्त्रीहरू संसद्मा उपस्थित नहुनु र उठेका प्रश्नहरूको जवाफ नदिनुले विधि सम्मत संसद् चलिरहेको छैन भन्ने पुष्टि हुन्छ। यो प्रतिनिधि सभा सञ्चालन नियमावली १५(२) को बर्खिलाप हो।” सांसद राईले लामो प्रयासपछि संसद्मा उपस्थित भएका दुई जना मन्त्रीहरूले पनि अत्यन्तै सतही जवाफ दिएको र आफू लगायत श्रम संस्कृति पार्टीका सांसदहरूले थप स्पष्टीकरण र प्रश्न सोध्न खोज्दा सभामुखले रोकेको भन्दै कडा असन्तुष्टि व्यक्त गरे। सदन भनेकै जनताका प्रश्नहरू सोध्ने र जनहितमा नियम कानुन बनाउने ठाउँ भएकाले प्रश्न सोध्न नदिनु आपत्तिजनक रहेको विज्ञप्तिमा उल्लेख छ।

आफूले गत वैशाख २८ र २९ गते संसद्‌मा राखेका जनसरोकारका कुनै पनि प्रश्नको उत्तर सरकारले नदिएको दाबी गर्दै उनले यस उदासीनतालाई लोकतन्त्र र संसदीय अभ्यासको इतिहासमा कालोधब्बाको संज्ञा दिए। सोही क्रममा सभामुखको भूमिकाप्रति समेत प्रश्न उठाउँदै राईले आक्रोश पोखे। उनले भने, “प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसक्ने सभामुखले प्रतिपक्ष दलका नेतालाई बारम्बार नियम घोकाइरहनु निन्दनीय र हास्यास्पद देखिन्छ। नियम भन्दा नियत ठुलो हुन्छ र त्यो नियत सधैँ जनता र लोकतन्त्रको पक्षमा हुनुपर्दछ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा