मौसम अपडेट: देशका तीन प्रदेशमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना, सुदूरपश्चिम र लुम्बिनीमा ‘तातो दिन’ को चेतावनी

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै देशको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस मौसमी प्रणालीका कारण हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बदली रहेको छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाको दैनिक बुलेटिनमा उल्लेख छ।

आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। यस्तै मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको तराई भू-भाग र बाँकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा र मधेस, लुम्बिनी तथा कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका साथै बागमती र गण्डकी प्रदेशका तराईका एक-दुई स्थानहरूमा मध्यमसम्म वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहँदा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा भने अत्यधिक गर्मी बढेर ‘तातो दिन’ (Heat Wave/लू) हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ। वर्षा, हिमपात र चट्याङ्गको जोखिमका साथै तराईमा बढ्दो गर्मीलाई मध्यनजर गर्दै दैनिक जनजीवनमा सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा