प्रधानमन्त्री बालेन शाह कुनै टापुको सम्राट हो कि संसद्को अङ्ग?: कांग्रेस नेता अर्जुननरसिंह केसीको प्रश्न

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद एवं वरिष्ठ नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह संसद्को अभिन्न अङ्ग हो कि होइन भन्दै गम्भीर प्रश्न उठाएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै नेता केसीले प्रधानमन्त्री शाह संसद्प्रति उत्तरदायी नभएको र उनी संसद्को अङ्ग जस्तो आफूलाई अनुभूति नभएको टिप्पणी गरे। मुलुकमा विपद् व्यवस्थापनको चुनौती बढिरहेका बेला गृहमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री संसद्मा उपस्थित नभएकोमा उनले कडा आपत्ति जनाए।

प्रधानमन्त्रीको कार्यशैलीप्रति तिखो व्यङ्ग्य गर्दै सांसद केसीले भने, “सम्माननीय प्रधानमन्त्री नै अहिले गृहमन्त्री हुनुहुन्छ र विपद्को विषय गृह मन्त्रालयले गम्भीरतापूर्वक लिने विषय हो। उहाँ स्वयं आफू यो संसद्को अङ्ग हो कि होइन? सभामुखजी मैले चाहिँ थाहा पाएको छैन है, उहाँ भिन्दै साम्राज्यको कहीँको टापुको सम्राट हो कि यो संसद्को पनि अभिन्न अङ्ग हो? त्यतातिर पनि म ध्यानाकर्षण गराउन चाहन्छु।” उनले प्रधानमन्त्री संसद् र जनताप्रति जबाफदेही हुनुपर्ने संसदीय परम्परालाई बेवास्ता गरिएको आरोप समेत लगाए।

सांसद केसीले मनसुन र प्राकृतिक विपद्को समय नजिकिँदै गर्दा सरकारले विपद् व्यवस्थापनमा गहिरोसँग ध्यान दिन आवश्यक रहेको कुरामा जोड दिए। विगत वर्षहरूमा भएका बेथितिहरूबाट मात्रै थिति बसाल्न नसकिने उल्लेख गर्दै उनले हरेक बेथितिबाट थिति बसाल्ने एउटा निश्चित अवधारणा र कार्यगत योजनासहित अघि बढेर मात्रै नयाँ कुराको निर्माण गर्न सकिने स्पष्ट पारे। उनले विपद्का समयमा नागरिकको जीउधनको रक्षाका लागि सरकारलाई तत्काल ठोस र प्रभावकारी प्रतिकार्य योजना ल्याउन समेत माग गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा