मौसम अपडेट: कोशी, बागमती र गण्डकीमा चट्याङ्गसहित वर्षाको सम्भावना; पश्चिम तराईका ६ जिल्लामा ‘लू’ चल्ने चेतावनी

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै देशको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस मौसमी प्रणालीका कारण हाल देशभर साधारणतया बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मौसममा उतारचढाव देखिएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश लगायत बाँकी प्रदेशको हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागको केही स्थानहरूमा, मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भू-भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। यस्तै, मधेश र कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

पहाडी र पूर्वी क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना रहँदा पश्चिम नेपालका तराई क्षेत्रमा भने अत्यधिक गर्मीले जनजीवन प्रभावित हुने देखिन्छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा तातो दिन हुने तथा तराई भू-भागमा तातो लहर (Heat Wave) चल्ने सम्भावना छ। महाशाखाका अनुसार विशेष गरी कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ जिल्लाहरूमा अत्यधिक गर्मी बढ्ने र तातो लहर (लू) चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन र लु को जोखिमबाट बच्न महाशाखाले विशेष आग्रह गरेको छ।

आज राति कोशी प्रदेश लगायत बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। मौसमविद्हरूले चट्याङ्ग, वर्षा, हावाहुरी र पश्चिम तराईमा चल्ने तातो लहरलाई मध्यनजर गर्दै दैनिक कामकाज गर्दा सजग रहन सुझाव दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा