मधेसमा व्याप्त दाइजो र बालविवाहविरुद्ध निरन्तर लडिरहने उपसभामुख रुवीकुमारी ठाकुरको प्रतिबद्धता; चन्द्रनगरमा बिना दाइजो विवाह गर्ने जोडी सम्मानित

बरहथवा (सर्लाही) । उपसभामुख रुवीकुमारी ठाकुरले मधेसमा व्याप्त दाइजो प्रथा र बालविवाहविरुद्ध आफू निरन्तर लडिरहने बताएकी छन्। सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आयोजना गरेको ‘बालविवाह एवं दाइजो प्रथा उन्मूलन कार्यक्रम’ लाई सम्बोधन गर्दै उपसभामुख ठाकुरले यी कुप्रथाहरू मधेसबाट मात्र नभई देशैभरबाट पूर्ण रूपमा उन्मूलन हुनुपर्नेमा जोड दिइन्। छोरीलाई बोझ मान्ने लैङ्गिक विभेदकारी सोचका कारण बालविवाह हुने गरेको भन्दै उनले मधेसले अब छोरीलाई सम्मान गर्न सिक्नुपर्ने उल्लेख गरिन्।

“छोरी जन्मने घरमा बोझ भित्रिएको भन्दै दुःख मान्नुहुन्न, माता सीताको जन्मभूमिमा छोरी जन्मनु त सौभाग्यको कुरा हो,” उपसभामुख ठाकुरले भनिन्। बालविवाह र दाइजो प्रथाले विवाहपछि परिवारमा विखण्डन र हिंसा ल्याउने उनको भनाइ थियो। पछिल्लो समय किशोरकिशोरीहरू घर छाडेर हिँड्ने गरेको कुरातर्फ सङ्केत गर्दै उनले अभिभावकको सरसल्लाह र अनुशासनलाई गलत सोचेर सामाजिक विद्रोह नगर्न समेत युवा पुस्तालाई सुझाव दिइन्।

कार्यक्रममा बोल्दै सर्लाही–१ बाट निर्वाचित सांसद नीतिमा कार्की भण्डारीले दाइजो र बालविवाह प्रथा लामो समयदेखि मधेसमा जकडिएर बसेको र यसलाई बदल्न जरुरी रहेको बताइन्। समाजमा व्याप्त यस्ता कुरीति र कुसंस्कार शिक्षाको उज्यालो ज्योतिले मात्र हटाउन सक्ने भन्दै उनले छोरीहरूलाई उच्च शिक्षा दिलाउन अभिभावकहरूसँग आग्रह गरिन्। मधेस प्रदेशका विभिन्न पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरूको सहभागिता रहेको उक्त कार्यक्रममा छोरीलाई १२ कक्षा पढाएर २० वर्ष पार गरेपछि मात्र विवाह गराउने अभिभावक, बुहारीलाई स्नातक पढाउने सासू-ससुरा र बिना दाइजो विवाह गर्ने आदर्श जोडीहरूलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।

चन्द्रनगर गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागि सराहनीय कार्य गर्दै आएको छ। गाउँपालिकाले २० वर्ष उमेर पार गरी विवाह गर्ने छोरीहरूलाई विवाह मण्डपमै पुगेर नगद ५० हजार रुपैयाँसहित सम्मान गर्ने गरेको छ भने कक्षा १२ सम्म पढ्ने छोरीहरूलाई पठनपाठमा प्रोत्साहन गर्ने उद्देश्यसहित एकमुष्ट नगद ११ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिँदै आएको छ। स्थानीय सरकारको यस्तो कदमले मधेसमा सामाजिक रूपान्तरणका लागि ठुलो मद्दत पुग्ने विश्वास लिइएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा