काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले युरोपेली सङ्घ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग आज संयुक्त भेटवार्ता गर्दै छन्। प्रधानमन्त्री शाहले बिहान ११:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको हो। कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने र आपसी सहकार्यका क्षेत्रहरू पहिल्याउने उद्देश्यले यो उच्चस्तरीय भेटघाट आयोजना गरिएको हो।
प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकता, विकासका लक्ष्य र आर्थिक समृद्धिको मार्गचित्रबारे कूटनीतिज्ञहरूलाई जानकारी गराइनेछ। बैठकमा नेपाल र युरोपेली देशहरूबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने तथा द्विपक्षीय व्यापार, पर्यटन, जलवायु परिवर्तन र प्राविधिक सहयोगका विविध विषयमा छलफल केन्द्रित हुनेछ। प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बलियो उपस्थिति र कूटनीतिक सन्तुलन कायम राख्ने विषयलाई विशेष जोड दिने बताइएको छ।
यसअघि गत चैत २५ गते पनि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका आवासीय राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गरेका थिए। सो भेटघाटको निरन्तरताका रूपमा आज गैरआवासीय राजदूतहरूसँग हुन लागेको छलफललाई कूटनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ। सरकारले अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन र नेपालको विकास एजेन्डामा विश्वव्यापी समर्थन जुटाउन यस्ता सामूहिक संवादलाई प्राथमिकता दिँदै आएको छ।





