काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज मंगलबार बस्दै छ। सङ्घीय संसद् सचिवालयका अनुसार बैठक बिहान ११:०० बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने तय भएको हो। आजको बैठकमा विशेष समय, शून्य समयका साथै केही महत्त्वपूर्ण नयाँ विधेयकहरू प्रस्तुत गर्ने र विचाराधीन विधेयकहरूमाथि दफाबार छलफल गरी पारित गर्नेसम्मको सम्भावित कार्यसूची तय गरिएको छ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ। पर्यटन क्षेत्रको कानुनी तथा नीतिगत सुधारका लागि यो विधेयकलाई निकै महत्त्वका साथ हेरिएको छ। त्यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
यसका साथै आजको बैठकमा राजनीतिक एवं निर्वाचन प्रणाली सुधारका दृष्टिले महत्त्वपूर्ण मानिएका दुई विधेयकहरू प्रस्तुत हुँदै छन्। बैठकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ तथा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफाबार छलफल संसद्मै गरिने र आजै पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ। यी विधेयकहरू पारित भएसँगै आगामी निर्वाचन प्रकृया र मतदाता नामावली संकलनमा केही परिमार्जन हुने विश्वास लिइएको छ।





