काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका विभिन्न १७ वटा सार्वजनिक निकायहरूमा रिक्त रहेका पदका लागि आह्वान गरिएको रोष्टर सूचीमा सहभागी हुन ४ हजारभन्दा बढीले आवेदन दिएका छन्। मन्त्रालयले खुला प्रतिष्पर्धात्मक प्रणालीमार्फत योग्य विज्ञ एवं जनशक्ति छनोट गर्न गत वैशाख ३१ गते रोष्टर सूचीका लागि आवेदन आह्वान गरेको थियो। जेठ ६ गतेसम्म तोकिएको अन्तिम म्यादभित्र कुल ४ हजार ३ सय ४८ जनाको उत्साहजनक आवेदन प्राप्त भएको मन्त्रालयले मङ्गलवार जानकारी दिएको छ।
मन्त्रालयका अनुसार आवेदन दिनेहरूमा पुरुषहरूको संख्या अत्यधिक रहेको छ। कुल आवेदकमध्ये ३ हजार ४ सय १४ जना पुरुष रहेका छन् भने महिला आवेदकको संख्या ९ सय २१ रहेको छ। यसैगरी, अन्य लैंगिक पहिचान भएका १३ जनाले पनि विभिन्न रिक्त पदका लागि आफ्नो विवरण बुझाएका छन्। सरकारी निकायहरूमा पारदर्शी ढंगले नियुक्तिको प्रक्रिया थालिएका कारण यस पटक आवेदकहरूको ठुलो आकर्षण देखिएको हो।
निकायगत रूपमा सबैभन्दा धेरै आकर्षण नेपाल पर्यटन बोर्ड (NTB) मा देखिएको छ। बोर्डका लागि मात्रै कुल ८ सय ५५ जनाले आवेदन दिएका छन्। दोस्रो धेरै आवेदन नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) मा परेको छ, जहाँ ५ सय ७८ जनाले आफ्नो रोष्टर विवरण पेस गरेका छन्। त्यसैगरी, पशुपति क्षेत्र विकास कोषका लागि ४ सय ७६ जना, लुम्बिनी क्षेत्र विकास कोषका लागि ४ सय ६५ जना र नेपाल प्रज्ञा प्रतिष्ठानका लागि ४ सय ३८ जनाको आवेदन परेको मन्त्रालयले जनाएको छ।
मन्त्रालय मातहतका अन्य प्रज्ञा प्रतिष्ठान तथा विकास समितिहरूमा पनि आवेदकहरूको उल्लेख्य सहभागिता छ। संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका लागि १ सय ९६, ललितकला प्रज्ञा प्रतिष्ठानका लागि १ सय ६६, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा १ सय ८६, सांस्कृतिक संस्थानमा १ सय ५१ र नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान (नाथम) का लागि १ सय ४९ जनाले आवेदन दिएका छन्। यस्तै, बौद्धनाथ क्षेत्र विकास समिति, तारा गाउँ विकास समिति, हनुमानढोका दरबार संग्रहालय विकास समिति लगायतका अन्य निकायहरूमा समेत गरी हजारौँको संख्यामा जैविक विवरण दर्ता भएको छ। मन्त्रालयका अनुसार हाल प्राप्त भएका सबै आवेदनहरूको मूल्याङ्कन समितिद्वारा आवश्यक अध्ययन र छानबिन भइरहेको छ र चाँडै नै योग्य उम्मेदवारहरूको रोष्टर सूची सार्वजनिक गरिनेछ।





