काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको हालैको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्। प्रधानमन्त्री शाहले संसद्को रोस्ट्रममा उभिएर ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको छ’ भनी दिएको बयान कूटनीतिक र राष्ट्रिय हित विपरित भएको ज्ञवालीको ठहर छ।
आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता ज्ञवालीले प्रधानमन्त्री जस्तो जिम्मेवार ओहोदामा बसेको व्यक्तिले संसद्मै यस्तो सन्देहास्पद कुरा बोल्नु भर्त्सनायोग्य भएको टिप्पणी गरेका छन्। उनले राष्ट्रको सीमा र सार्वभौमिकतासँग जोडिएको यस्तो संवेदनशील विषयमा हलुका टिप्पणी गरिनु मुलुककै अन्तर्राष्ट्रिय छविमाथि आँच आउने कार्य भएको बताए।
पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री शाहलाई संसद्को रोस्ट्रममा बोलेको उक्त आपत्तिजनक अभिव्यक्ति तत्काल फिर्ता लिन र नेपाली जनतासँग सार्वजनिक रूपमा क्षमा माग्न जोडदार माग गरेका छन्। प्रधानमन्त्रीको यस बयानले संसद् र राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ।





