काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठकमा आज प्रमुख विपक्षी दलहरूले नियमावलीका केही बुँदाहरूमाथि कडा आपत्ति जनाउँदै विरोध गर्ने तयारी गरेका छन्. प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा (एमाले) सहितका विपक्षी दलहरूले प्रतिनिधिसभा सञ्चालन नियमावलीमा समेटिएका विवादास्पद बुँदाहरू हटाउन माग गरेका हुन्. नियमावलीलाई विशेष कानुनसरह मान्न नसकिने अडान राख्दै उनीहरूले यस व्यवस्थाको विरोध गर्ने रणनीति बनाएका छन्.
नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाका अनुसार नियमावली मस्यौदा समिति गठनकै समयदेखि कांग्रेससहितका विपक्षी दलहरूले नियमावलीलाई विशेष कानुन बनाउने विषयमा असहमति राख्दै आएका थिए. समितिमा ३ वटा मुख्य बुँदामा असहमति दर्ज गरिएको र आजको संसद् बैठकमा पनि सोही असहमतिलाई जोडदार रूपमा उठाउने तयारी भइरहेको थापाले जानकारी दिइन्.
यसैगरी, नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले पनि नियमावलीका केही प्रावधानमा आफ्नो पार्टीको गम्भीर आपत्ति रहेको स्पष्ट पारेका छन्. संसद् बैठक अघि सिंहदरबारमा दुवै दलका प्रमुख सचेतक र सचेतकहरूबीच भएको छलफलमा सदनमा कसरी प्रस्तुत हुने भन्नेबारे साझा रणनीति तय गरिएको छ. एमाले प्रमुख सचेतक महरले नियमावलीका विषयमा आफूहरूको अब्जेक्सन रहने र बहुमतको बलमा जबर्जस्ती गरिए विरोध प्रदर्शन गर्ने तथा वेल घेराउ मुद्दासम्म पुग्ने चेतावनी दिएका छन्. विपक्षी दलहरूको यो आक्रामक तयारीका कारण आजको प्रतिनिधिसभा बैठक निकै निकै गर्माउने सङ्केत देखिएको छ.





