काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल-भारत सम्बन्धलाई लिएर काठमाडौँ र दिल्ली दुवैतर्फ सुनिएका पछिल्ला ‘गड्याङगुडुङ’का आवाजहरू त्यति प्रिय नरहेको टिप्पणी गरेका छन्. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमण र भारतीय अखबार ‘हिन्दुस्तान टाइम्स’ मा प्रकाशित लेखले ल्याएको तरङ्गलाई लक्षित गर्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा राखेका हुन्.
लामिछानेको लेखमा उठाइएका कतिपय विषयमा आफ्नो सहमति रहेको उल्लेख गर्दै भट्टराईले नेपाल-भारत सम्बन्धमा विकास साझेदारी र सभ्यता-संस्कृतिका कुरा गरुन्जेल दुवैतर्फ वाहवाही हुने तर भित्रभित्रै पुतपुताइरहने सामरिक सुरक्षा र राष्ट्रिय सार्वभौमसत्ताको पाटो निकै जटिल रहेको बताएका छन्. भारतीयहरूको दिलदिमागमा अङ्ग्रेजको पालादेखि जमेर बसेको ‘सुरक्षाको मामिलामा हिमालको सेरोफेरो सबै मेरो’ भन्ने सोच र नेपालीहरूमा गढेर बसेको ‘सिक्किमीकरण’को त्रासकै कारण यो सम्बन्ध सधैँ अल्झिरहेको उनको तर्क छ.
यही ऐतिहासिक गाँठो फुकाउन आफूले प्रबुद्ध व्यक्तिहरूको समूह (इपीजी) को अवधारणा अघि सारेको स्मरण गराउँदै भट्टराईले उक्त प्रतिवेदन अहिले मृत्युशैय्यामा छट्पटाइरहेको दुखेसो पोखेका छन्. उनले रवि लामिछानेको वर्तमान दिल्ली भ्रमणले यो पुरानो दुष्चक्र तोड्न सफल रहोस् भन्दै कामना समेत गरेका छन्.





