काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगलाई पूर्ण रूपमा अस्वीकार गर्ने घोषणा गरेका छन्. बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकार प्रतिशोध र पूर्वाग्रहको पोको भएको आरोप लगाउँदै आफूले आयोगसमक्ष कुनै पनि बयान नदिने स्पष्ट पारे.
सरकारले नयाँ पार्टीका नेता र सेनाको सम्पत्ति छानबिन नगर्ने नीति लिएको दाबी गर्दै उनले पुराना पार्टीका नेताहरूलाई मात्रै छानीछानी फसाउन यो प्रपञ्च रचिएको जिकिर गरे. “अरुले बयान दिए पनि मचाहिँ बयान दिन्नँ। सम्पत्ति विवरण भरेर म पठाउँदिनँ, जेजे गर्न सक्छ गरोस्। यो राज्य राज्य होइन, पूर्वाग्रहको पोको हो,” ओलीले चेतावनीपूर्ण शैलीमा भने. उनले सरकारलाई प्रतिशोधको राजनीति त्यागेर संवैधानिक दायराभित्र रहेर काम गर्न समेत सुझाव दिएका छन्.





