काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जेठ २२ गते शुक्रबारको मौसमी विवरण सार्वजनिक गर्दै देशका विभिन्न भू-भागमा बदली, वर्षा र अत्यधिक गर्मीको थप प्रक्षेपण गरेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी तराई भू-भागमा आंशिक बदली रहनेछ। दिउँसोको समयमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। पहाडी र हिमाली भेगमा वर्षाको आकलन गरिए पनि मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रमा भने आज पनि ‘तातो दिन’ (लू) को स्थिति कायमै रहने भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ।
आज राति कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने पहाडी भू-भाग तथा मधेश प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी तराई भू-भागको मौसम भने मुख्यतया सफा रहनेछ। रातिको समयमा कोशी र मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।




