काठमाडौँ । फिफा विश्वकप २०२६ मा सहभागी हुने दर्शकहरूले रङ्गशालाभित्र पुनः प्रयोग गर्न मिल्ने पानीका बोतल लैजान नपाउने भएका छन्। फिफाले रङ्गशालाको आचारसंहितामा अन्तिम समयमा परिवर्तन गर्दै सुरक्षाको कारण देखाएर यस्तो प्रतिबन्ध लगाएको हो।
गत महिनासम्म फिफाले रङ्गशालाभित्र १ लिटरसम्मको खाली, पारदर्शी र पुनः प्रयोग गर्न मिल्ने प्लास्टिकका बोतलहरू लैजान अनुमति दिएको थियो। तर परिमार्जित आचारसंहिताले त्यस्ता बोतल बोक्न पूर्ण रूपमा रोक लगाएको जानकारी फिफाले दिएको छ। खेलाडी वा दर्शकलाई लक्षित गरेर प्रहार हुन सक्ने र त्यसले चोटपटक लाग्ने जोखिमलाई मध्यनजर गर्दै बोतल, कप, जार र क्यान जस्ता अन्य सामग्रीहरूमा पनि प्रतिबन्ध लगाइएको हो। फिफाले खेलाडी, रेफ्री र प्रशंसकहरूको सुरक्षाका लागि यो निर्णय लिइएको प्रष्ट पारेको छ।
विश्वकप आयोजना हुने कतिपय रङ्गशालाहरूमा पहिलेदेखि नै यो नियम रहेकाले फिफाले अहिले सोही व्यवस्थालाई प्रतियोगिता हुने सबै रङ्गशालाहरूमा लागू गरेको हो। विश्वकपका कतिपय आयोजक सहरहरूमा तापक्रम २६ देखि २८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको अवस्थामा यो निर्णयले समर्थकहरूमाझ गर्मी र तिर्खाको सामना कसरी गर्ने भन्ने चिन्ता बढाएको छ। फिफाले भने दर्शकहरूलाई जोगाउन रङ्गशाला परिसरमा ‘हाइड्रेशन स्टेसन’, कुलिङ टेन्ट र पंखाहरू जस्ता आवश्यक उपायहरू अवलम्बन गरिने स्पष्ट पारेको छ। अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको ४८ टोली सहभागी यस विश्वकप आगामी जुन ११ देखि जुलाई १९ सम्म चल्ने छ।




