काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको सौहार्दपूर्ण निमन्त्रणामा जेठ २२ गते शुक्रबारदेखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणमा जाने भएका छन्. नेपाल र भारतबिच नियमित रूपमा हुने उच्चस्तरीय भ्रमण आदानप्रदानको सिलसिला अन्तर्गत हुन लागेको यस भ्रमणले दुई देशबिचको ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ.
परराष्ट्र मन्त्रालयले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री खनालको औपचारिक भारत भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो. भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी डा. जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने छन्. सो अवसरमा दुई देशका विदेशमन्त्रीबिच नेपाल र भारतको आपसी हितका विविध विषयमा गहन छलफल हुने मन्त्रालयले जनाएको छ.
विशेष गरी व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा क्षेत्रमा सहकार्य तथा दुई देशका जनताबीचको आपसी सम्बन्धलाई अझ सुदृढ र विस्तार गर्ने विषयमा केन्द्रित रहेर दुई पक्षबिच वार्ता हुने विज्ञप्तिमा उल्लेख छ. नेपाल र भारतबिचको आपसी सहयोग र समझदारीलाई नयाँ उचाइमा पुर्याउन यो भ्रमण महत्त्वपूर्ण कडी हुने मन्त्रालयको ठहर छ. मन्त्री खनाल आउँदो जेठ २४ गते काठमाडौँ फर्कने तालिका रहेको छ.




