काठमाडौँ । विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितताको मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
मंगलबार विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पूर्वमहानिर्देशक गौतमलाई मुद्दाको किनारा नलागुन्जेलसम्मका लागि न्यायिक हिरासत (जेल) मा राख्न आदेश दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीसँगको मिलेमतो, सम्झौताविपरीत कर छुट र परामर्शदाता छनोटमा अनियमितता गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो। गौतममाथि विमानस्थल निर्माणका क्रममा ८ करोड ९५ लाख २ हजार ७ सय ८० रुपैयाँ सरकारी रकम हिनामिना गरेको र प्राधिकरणलाई प्रत्यक्ष हानी नोक्सानी पुर्याएको गम्भीर आरोप लागेको छ। राष्ट्रिय गौरवको आयोजना मानिएको पोखरा विमानस्थल निर्माणमा अर्बौँको भ्रष्टाचार भएको भन्दै अख्तियारले यसअघि पूर्वसचिवहरू र उच्च अधिकारीहरूविरुद्ध समेत विभिन्न चरणमा मुद्दा दायर गरिसकेको छ।





