काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो एउटा भिडियोलाई लिएर प्रस्टीकरण दिएकी छन्। गुडिरहेको कारको झ्यालबाट शरीर बाहिर निकालेर यात्रा गरिरहेको दृश्य सार्वजनिक भएपछि उनको व्यापक आलोचना भएको थियो।
आलोचना बढेपछि सांसद भट्टराईले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक वक्तव्य जारी गर्दै उक्त भिडियो हालको नभई धेरै अघिको पुरानो भएको स्पष्ट पारेकी छन्। उनले भिडियो आफू सार्वजनिक जिम्मेवारीमा आउनु वा सरकारी नियुक्ति पाउनुभन्दा अगाडिको निजी समयको रहेको बताएकी छन्। आफू उक्त गाडीको चालक नभई यात्रुको रूपमा रहेको र केही क्षणका लागि रमाइलो गर्ने क्रममा उक्त दृश्य खिचिएको उनको भनाइ छ।
सांसद भट्टराईले सार्वजनिक पदमा रहेका व्यक्तिहरूप्रति नागरिकको चासो हुनु स्वाभाविक भए पनि आफ्नो व्यक्तिगत स्वतन्त्रता र निजी जीवन जिउने अधिकार रहेको तर्क गरेकी छन्। यद्यपि, उमेर वा परिस्थितिका कारण गरिएको त्यस्तो व्यवहार ट्राफिक नियम र सडक सुरक्षाको दृष्टिकोणले उपयुक्त नभएको उनले स्वीकार गरेकी छन्। विगतको गल्तीबाट सिक्दै भविष्यमा यस्ता गतिविधि नदोहोर्याउने प्रतिबद्धता जनाउँदै उनले यसलाई विवादको विषय बनाउनुभन्दा सडक सुरक्षा सम्बन्धी सचेतनाको अवसरका रूपमा लिन नागरिकहरूलाई आग्रह गरेकी छन्।





