काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकताले पार्टीलाई कमजोर बनाउने खेल भइरहेको आरोप लगाएका छन्। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका लागि एमाले नेताहरू प्रदेशस्तरीय भेलामा खटिरहेका बेला सचिव बस्नेतको यस्तो टिप्पणी सार्वजनिक भएको हो।
बिहीबार सामाजिक सञ्जालमा लेख्दै बस्नेतले ११औँ महाधिवेशनको कार्यनीतिक नारा नै ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतासँग लड्ने’ रहेको स्मरण गराएका छन्। तर आज त्यही प्रवृत्तिले पार्टीलाई भित्रभित्रै कमजोर बनाउन खोजेको उनको भनाइ छ।
एक विम्बको प्रयोग गर्दै बस्नेतले लेखेका छन्, “एउटा खन्चुवा बच्चाले मुख खोलेर रोइरहन्छ। उसलाई खानेकुरा मुखमा हालिदिए केहीबेर हाँस्छ, तर घुटुक्क निल्ने बित्तिकै फेरि मुख खोलेर रुन थाल्छ।” उनले पद, पैसा र प्रतिष्ठाको भोक कहिल्यै नमेटिने अवसरवादीहरूको चरित्र पनि त्यस्तै हुने र उनीहरूलाई जे दिए पनि नपुग्ने प्रवृत्ति दलहरूभित्र मौलाउँदै गएकोमा चिन्ता व्यक्त गरे। आजको आवश्यकता व्यक्तिगत स्वार्थलाई माथि राख्ने यस्ता अवसरवादी विरुद्ध दृढतापूर्वक सङ्घर्ष गर्दै सङ्गठनलाई वैचारिक रूपमा सुदृढ र अनुशासित बनाउनु रहेको उनले उल्लेख गरेका छन्।





