काठमाडौँ । नेपालमा यस वर्षको मनसुन औपचारिक रूपमा प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु कोशी प्रदेशका केही भू-भागबाट नेपाल प्रवेश गरेको हो। यो नेपालमा मनसुन भित्रिने सामान्य औसत मितिभन्दा ६ दिन ढिलो गरी भित्रिएको हो। देशका अन्य भू-भागमा भने हाल स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायमै रहेको छ।
आज ६ असार शनिबार दिउँसो कोशी प्रदेशका तराई क्षेत्रसहित देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेशमा आंशिक बदली रहने र अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ। कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा र बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भू-भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। यस्तै कोशीको तराई र मधेस प्रदेशका एक-दुई स्थानमा पनि वर्षा हुन सक्नेछ। पूर्वी क्षेत्रमा मनसुन सक्रिय भइरहँदा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने अत्यधिक गर्मीका कारण तातो लहर (लू) चल्ने तथा बागमती र गण्डकीका तराई क्षेत्रमा तातो दिन हुने सम्भावना छ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा कोशी प्रदेशको तराई भू-भागमा साधारणतया बदली रहनेछ। महाशाखाका अनुसार राति कोशी, बागमती र गण्डकीका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। विशेष गरी कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका साथै कोशी प्रदेशकै तराई क्षेत्रका एक-दुई स्थानमा राति भारी वर्षा (हेभी रेन) को समेत सम्भावना रहेकाले ती क्षेत्रका नदी तटीय तथा भिरालो जमिनमा बस्ने नागरिकहरूलाई सतर्कता अपनाउन महाशाखाले विशेष आग्रह गरेको छ।





