काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहेको छ भने मधेश प्रदेशमा आंशिक बदली देखिएको छ।
आज दिउँसो देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रही तराईका जिल्लाहरूमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। दिउँसोको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यसैगरी, कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका साथै सबैजसो प्रदेशका तराईका थोरै स्थानमा समेत मध्यम वर्षा हुनेछ।
रातिको समयमा भने मनसुन थप सक्रिय भई गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। ती प्रदेशका पहाडी र तराई दुवै भू-भागमा भारी वर्षाको जोखिम रहेकाले बाढी, पहिरो तथा डुबानको सम्भावनालाई मध्यनजर गर्दै नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।




