काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले क्षणिक राजनीतिक स्वार्थका लागि संविधानका मूल विशेषताहरू भत्काउन खोजिए मुलुक गम्भीर जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिने चेतावनी दिएका छन्। सङ्घीयता, गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशिता जस्ता उपलब्धिहरूलाई समाप्त पार्ने प्रयास भए त्यसको सशक्त प्रतिरोध हुने उनले स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमार्फत ‘संविधान संशोधनसम्बन्धी बहस’ मा आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष यादवले राजनीतिक दल र सरकारलाई संविधानको जग नष्ट नगर्न सचेत गराएका हुन्। उनले विश्वका प्रमुख लोकतान्त्रिक मुलुकहरूमा राष्ट्रको मूल पहिचान, सङ्घीयता र न्यायिक स्वतन्त्रता जस्ता आधारभूत पक्षलाई स्थायी रूपमा सुरक्षित गर्न ‘असंशोधनीय प्रावधान’ राख्ने अभ्यास रहेको दृष्टान्तसमेत प्रस्तुत गरेका छन्।
नेपाली जनताको लामो जनसङ्घर्ष, सशस्त्र सङ्घर्ष र ऐतिहासिक मधेस जनविद्रोहको जगमा जारी भएको संविधानको मूल चरित्रलाई नष्ट गर्ने नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गर्नका लागि मात्र संशोधन हुनुपर्ने यादवको भनाइ छ। उनले समान जनसङ्ख्याका आधारमा संसद् र प्रदेश सभामा न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने तथा मधेसी, आदिवासी जनजाति, दलित, महिला लगायतका सीमान्तकृत समुदायको अधिकार र पहुँचको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिएका छन्।




