काठमाडौँ । देशको ऊर्जा क्षेत्रमा देखिएका विद्यमान समस्या र चुनौतीहरूको समाधान खोज्ने उद्देश्यले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज ऊर्जा उद्यमीहरूसँग विशेष छलफल गर्दैछन्। बुधबारदेखि उद्योगी तथा व्यवसायीहरूसँगको भेटघाटलाई निरन्तरता दिँदै आएका प्रधानमन्त्री शाहले आज ऊर्जा क्षेत्रका सरोकारवालाहरूसँग संवाद गर्न लागेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११:३० बजे तय गरिएको यस भेटवार्तामा जलविद्युत् र समग्र ऊर्जा विकासका समसामयिक मुद्दाहरूमा गहन छलफल हुने जनाइएको छ। सरकारका तर्फबाट ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि चाल्नुपर्ने कदम र नीतिगत सुधारका विषयमा उद्यमीहरूले आफ्ना धारणा तथा सुझावहरू प्रस्तुत गर्नेछन्।
प्रधानमन्त्री आफैँले ऊर्जा क्षेत्रका समस्याबारे प्रत्यक्ष जानकारी लिन र निकास खोज्न आमन्त्रण गरेपछि उद्यमीहरू उत्साहित देखिएका छन्। उक्त उच्चस्तरीय छलफलमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहन डाँगी, निवर्तमान अध्यक्ष गणेश कार्की र वरिष्ठ उपाध्यक्ष उत्तम लामासहितका विशिष्ट प्रतिनिधिहरूको सहभागिता रहने तय भएको छ।




