गणेश नेपाली मृत्यु प्रकरण: महानगर प्रहरी निलम्बन र उच्चस्तरीय छानबिन समितिसहित ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर

काठमाडौँ । वीर अस्पतालमा उपचारका क्रममा निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनालाई लिएर सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति भएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा भएको वार्तापछि मृतकको शव बुझ्ने, पोस्टमार्टम गर्ने र सद्गत गर्ने सहमति जुटेको हो। सहमतिअनुसार घटनाको दिन नेपालीसँग विवादमा संलग्न काठमाडौँ महानगरपालिकाका नगर प्रहरीलाई तत्कालका लागि निलम्बन गरिनेछ।

घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गर्न नेपाल सरकारले एक जना पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। उक्त समितिले सात दिनभित्र आफ्नो प्रतिवेदन पेस गर्नुपर्नेछ। सोही समितिको प्रतिवेदन, सिफारिस र विगतका अभ्यासहरूलाई आधार मानेर मृतक नेपालीलाई सहिद घोषणा गर्ने कानुनी प्रक्रिया अगाडि बढाइने सहमतिपत्रमा उल्लेख छ।

यसैगरी, काठमाडौँ महानगरपालिकाले मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा रोजगारी सुनिश्चित गर्ने र छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च बेहोर्ने जिम्मेवारी लिएको छ। महानगरको आगामी कार्यपालिका बैठकबाट निर्णय गराई आश्रित परिवारलाई यथोचित राहत रकम उपलब्ध गराउने, अन्तिम संस्कार तथा काजक्रियाको सम्पूर्ण खर्च बेहोर्ने र परिवारको काठमाडौँ आउजाउ तथा बसाइको प्रबन्धसमेत महानगरले नै गर्नेछ। यसका अतिरिक्त, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पीडित परिवारको स्वास्थ्य बिमाको व्यवस्था मिलाउने सहमति भएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा