काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको वास्तविक सुधारका लागि सतही काम मात्र पर्याप्त नहुने बताएका छन्। नागरिकले प्रत्यक्ष रूपमा सहज सेवा र सस्तो औषधि पाउनका लागि अस्पतालका फार्मेसीको बोर्ड मात्र परिवर्तन गर्नुभन्दा पनि दीर्घकालीन र व्यावहारिक योजनाको कार्यान्वयन आवश्यक रहेको उनले औँल्याएका छन्।
आफ्नो मन्त्रीकालको स्मरण गर्दै पौडेलले आम नागरिकलाई सुलभ मूल्यमा औषधि उपलब्ध गराउन महत्त्वपूर्ण नीतिगत आधारहरू तयार पारेको दाबी गरेका छन्। देशभर औषधिको मूल्यमा एकरूपता ल्याउन र आपूर्ति व्यवस्थालाई सहज बनाउन ‘सेन्ट्रल बिडिङ’ र ‘लोकल पर्चेजिङ’को तयारी गरिएको उनले जानकारी दिए। यसका साथै, विज्ञहरूको संलग्नतामा जेनेरिक औषधिको मूल्य निर्धारण र समायोजनसम्बन्धी अध्ययन प्रतिवेदनसमेत तयार पारिएको उनको भनाइ छ।
औषधि, स्वास्थ्य सामग्री, कस्मेटिक र अतिरिक्त पोषणको नियमनका लागि नयाँ विधेयक तथा मूल्य निर्धारण निर्देशिका तयार गरी अगाडि बढाइएको भए पनि पछिल्लो समय ती कामहरू ओझेलमा परेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्। आफूले बजेटमार्फत आवश्यक व्यवस्थापन गरिसकेको स्मरण गराउँदै नेता पौडेलले नागरिकले प्रत्यक्ष राहत महसुस गर्ने गरी काम गर्न वर्तमान सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।




