काठमाडौँ । सोमबार देशभरको मौसम साधारणतया बदली रहने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने र केही प्रदेशहरूमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने देखिएको छ।
दिउँसो देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका धेरै स्थानमा र बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने पूर्वानुमान छ। यसैगरी, कोशी र मधेश प्रदेशको तराई क्षेत्रका केही स्थानमा पनि वर्षा हुनेछ। विशेषगरी दिउँसो सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका थोरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा पनि देशभरको आकाशमा बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा वर्षा र हिमपात हुनेछ। राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै, रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ।
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा जलस्तर बढ्न सक्ने, पहाडी भू-भागमा पहिरो जाने र तराईका होचा स्थानमा डुबान हुन सक्ने जोखिम रहेको छ। यसले सडक तथा हवाई यातायातमा समेत प्रभाव पार्न सक्ने भएकाले यात्रा गर्दा र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।





