काठमाडौँ । फिफा विश्वकप २०२६ को फाइनल भिडन्तमा सनसनीपूर्ण नतिजा निकाल्दै स्पेन नयाँ विश्वविजेता बनेको छ। सोमबार बिहान सम्पन्न रोमाञ्चक एवं उपाधि भिडन्तमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोल अन्तरले स्तब्ध पार्दै स्पेनले दोस्रो पटक विश्वकपको ऐतिहासिक ट्रफी चुमेको हो।
उपाधिका लागि दुवै टोलीबिच सुरुदेखि नै कडा प्रतिस्पर्धा भएको थियो। निर्धारित ९० मिनेटको नियमित खेलमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा १० खेलाडीमा सीमित अर्जेन्टिनामाथि स्पेनले आक्रामक दबाब बनाएको थियो। खेलको १०६औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका फेरान टोरेसले उत्कृष्ट गोल गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाए।
यसअघि खेलको निर्धारित समयको अन्तिम मिनेट (९०+४) मा अर्जेन्टिनाका भरपर्दा खेलाडी एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो। खेलको सुरुवाती समयमा चोटका कारण मुख्य खेलाडी मार्टिनेज मैदान बाहिरिनु र अन्तिम समयमा १० खेलाडीमा खुम्चिनु अर्जेन्टिनाका लागि प्रत्युत्पादक बन्यो। १० खेलाडीको फाइदा उठाउँदै स्पेनले अतिरिक्त समयमा लगातार आक्रमण बुनेको थियो।
सन् २०१० को विश्वकप विजेता स्पेन त्यसपछि पहिलो पटक फाइनलमा पुगेको हो र आफ्नो यस दोस्रो फाइनल यात्रालाई नै उपाधिमा परिणत गर्न सफल भएको छ। अर्कोतर्फ, सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिनाले यसपटक उपाधि रक्षा गर्न सकेन र उपविजेतामा चित्त बुझाउनुपर्यो। यस ऐतिहासिक जितसँगै स्पेनिस फुटबल प्रशंसकहरू विश्वभर खुसीयाली मनाइरहेका छन्।




