काठमाडौँ । सङ्घीय संसद्मा आफ्ना सांसदहरूको प्रस्तुति र भूमिकालाई थप सशक्त, तर्कपूर्ण र जिम्मेवार बनाउने उद्देश्यले नेकपा (एमाले) ले विशेष अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। पार्टीको संसदीय विभागको संयोजनमा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजना गरिएको यस कार्यक्रममा संसद्का दुवै सदनका सांसदहरूलाई सहभागी गराइएको छ।
यस विशेष कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद्भित्र सांसदहरूले खेल्नुपर्ने प्रभावकारी भूमिका, जनचासोका विषय उठान र उनीहरूको प्रमुख दायित्वका विषयमा गहन प्रशिक्षण दिने कार्यक्रम तय भएको छ। त्यस्तै, पार्टीका महासचिव शङ्कर पोखरेलले पार्टीको नीति, सिद्धान्त र सांसदहरूको कर्तव्यका विषयमा दिशानिर्देश गर्नेछन्। संसद्मा उठ्ने विभिन्न विषयवस्तुहरूमा पार्टीका सम्बन्धित विभागहरूसँग कसरी समन्वय र परामर्श गर्ने भन्नेबारे पनि उनले प्रस्ट पार्नेछन्।
सांसदहरूलाई संसदीय प्रक्रियाका प्राविधिक पक्षबारे जानकारी गराउन संसद् सचिवालयका पूर्वसचिव हर्कराज राईलाई समेत आमन्त्रण गरिएको छ। उनले संसद् सचिवालयको समग्र कार्यप्रणाली, संसदीय समितिहरूको अधिकार क्षेत्र तथा संसद्मा प्रभावकारी रूपमा उठाउनुपर्ने महत्त्वपूर्ण मुद्दाहरूका बारेमा सांसदहरूलाई अभिमुखीकरण गराउनेछन्।
प्रशिक्षण कार्यक्रममा सांसदहरूका अतिरिक्त पार्टीका सबै विभाग प्रमुख र पूर्वसदस्यहरूलाई समेत बोलाइएको छ। संसद्मा प्रस्तुत हुने विषयवस्तुहरूमा सांसदहरूलाई आवश्यक पर्दा तत्काल विशेषज्ञ सल्लाह उपलब्ध गराउन विभिन्न क्षेत्रका विज्ञहरूको ‘रोस्टर’ (सूची) समेत तयार पारिने योजना रहेको छ। यसले आगामी दिनमा एमाले सांसदहरूको संसदीय अभ्यासलाई थप तथ्यमा आधारित र नतिजामुखी बनाउने अपेक्षा गरिएको छ।




