काठमाडौँ । मुलुकभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (सोमबार) देशभरको मौसम साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका हिमाली, पहाडी तथा तराई भू-भागका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहनुका साथै पाँचवटा प्रदेशका पहाडी र तराई भेगमा भारी वर्षाको पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भेगका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा वा हिमपातको सम्भावना रहेको छ। पहाडी भू-भागका केही स्थानमा वर्षा वा हिमपात हुनसक्नेछ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा मध्यम वर्षा हुनेछ। विशेष गरी कोशी र कर्णाली प्रदेशका पहाडी भू-भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यसैगरी आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। रातिको समयमा देशको हिमाली भू-भागका थोरै स्थान तथा पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा हुनेछ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, गेग्रान बहाव तथा पहिरोको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।





