सिरहा । सिरहाको औरही गाउँपालिकामा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहभागी भएका बेला चर्को विवाद भएको छ। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनसम्बन्धी सुझाव संकलन कार्यक्रममा जनप्रतिनिधिहरूबीच असन्तुष्टि र होहल्ला बढेपछि मन्त्री पोखरेल सुरक्षाकर्मीको सहयोगमा कार्यक्रमस्थलबाट बाहिरिएका हुन्।
कार्यक्रममा ढिलो गरी पुगेका मन्त्री पोखरेललाई गाउँपालिका अध्यक्षको मन्तव्यलगत्तै सीधै सम्बोधन गर्न माइक दिइएपछि जिल्ला समन्वय समिति (जिसस) सिरहाका सभापति दिनेश महतोले आपत्ति जनाएका थिए। आफूसहित सहभागी शिक्षक र जनप्रतिनिधिलाई बोल्ने अवसर नदिइएको र मन्त्रीसँगै आएका व्यक्तिहरूले ‘यो नेताहरूले बोल्ने कार्यक्रम होइन’ भन्दै अपमानजनक व्यवहार गरेको महतोको आरोप छ।
विवाद भइरहेकै बेला कार्यक्रमस्थलबाट भिडियो खिचिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेताको मोबाइल सुरक्षाकर्मीमार्फत खोस्न लगाइएपछि माहोल थप तनावपूर्ण बनेको थियो। स्थिति असहज बनेपछि मन्त्री पोखरेलले मन्तव्य छोट्याउँदै सुरक्षाकर्मीको घेरामा कार्यक्रमस्थल छाडेका थिए। यता, रास्वपा सांसद शिव यादवले भने सरकारी कार्यतालिकाअनुसार कार्यक्रम चलिरहेको अवस्थामा सभापति महतोले नेताजस्तो भाषण गर्न नपाएपछि अनावश्यक विवाद सिर्जना गरेको दाबी गरेका छन्।




