एमाले ‘पार्टी पुनर्गठन कार्यदल’को बैठक आज पनि बस्दै: दुई प्रतिवेदनमाथि छलफल गरी साझा दस्तावेज बनाउने तयारी

काठमाडौँ । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज (शनिबार) पनि बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा पेस भएका प्रतिवेदनहरूमाथि छलफल गरी एउटै साझा दस्ताबेज तयार गर्ने तयारी गरिएको छ।

एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार कार्यदल बैठक संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा शुक्रबार च्यासलमा सुरु भएको थियो। बैठकमा संयोजक थापा र सदस्यसचिव शङ्कर पोखरेलले तयार पारेका दुई छुट्टाछुट्टै प्रतिवेदन पेस भएका थिए। शुक्रबार दुवै प्रतिवेदनको प्रारम्भिक अध्ययन गरिएको र आज बस्ने बैठकबाट ती प्रतिवेदनहरूमाथि थप छलफल गरी एउटै प्रतिवेदन बनाउने नेताहरूबीच समझदारी भएको छ।

गत निर्वाचनको समीक्षा तथा पार्टी पुनर्गठनका लागि सुझाव संकलन गर्न गठित १५ सदस्यीय कार्यदलमा महासचिव पोखरेलले कार्यकारी पदमा दुई कार्यकालको सीमा, अवसरको न्यायोचित वितरण लगायतका विषय समेटिएको प्रतिवेदन अघि सारेका छन् भने संयोजक थापाले पनि छुट्टै प्रतिवेदन पेस गरेका छन्। कार्यदलले आजको छलफलपश्चात् दुवै दस्ताबेजलाई मिलाएर एकीकृत प्रतिवेदन पार्टी नेतृत्वसमक्ष पेस गर्ने जनाइएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा