काठमाडौँ । देशभर मनसुनजन्य विपद्का घटनाहरू बढिरहेको सन्दर्भमा सरकारको पूर्वतयारी र व्यवस्थापनका विषयमा प्रमुख प्रतिपक्षी दललगायतका विपक्षी पार्टीहरूले राष्ट्रियसभामा सार्वजनिक महत्त्वको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्ने भएका छन्।
राष्ट्रियसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको पहलमा आज बिहान ११ बजे गृहमन्त्रीको ध्यानाकर्षण गराउने उद्देश्यले उक्त प्रस्ताव दर्ता गर्न लागिएको हो। नेपाली कांग्रेसका राष्ट्रियसभा प्रमुख सचेतक पदम परियारका अनुसार, मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी र भावी योजनाबारे सदनलाई जानकारी गराउन र जवाफदेहिता माग गर्न यो कदम चालिएको हो।
कांग्रेसले अघि सारेको यस ध्यानाकर्षण प्रस्तावलाई राष्ट्रियसभामा रहेका अन्य विपक्षी दलहरू नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालले समेत औपचारिक रूपमा समर्थन जनाएका छन्। विपक्षी दलहरूको यस संयुक्त प्रयासले विपद्को समयमा नागरिकको जिउधनको रक्षा गर्न र उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारलाई थप जिम्मेवार बन्न दबाब पुग्ने अपेक्षा गरिएको छ।





