लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका वडा नं. ७ भाटबेशीमा गएको पहिरोमा परि दुई जनाको ज्यान गएको छ। स्थानीय कुलो भत्किएर आएको लेदोसहितको पहिरोले स्थानीय विष्णु दत्त सुवेदीको दुई तले धन्सार पूर्ण रूपमा बगाउँदा त्यहाँ आश्रय लिइरहेका दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीको जानकारी अनुसार दुर्घटनामा परेर मर्स्याङ्दी गाउँपालिका वडा नं. १ घनपोखरा नायुका टिक बहादुर विक र उनकी कान्छी छोरी विनीता विकको मृत्यु भएको छ। पहिरोमा परी सोही परिवारका अन्य दुई सदस्यसमेत घाइते भएका छन्। घाइते हुनेमा मृतककी पत्नी सुक कुमारी विक र अर्की छोरी अस्मिता विक रहेका छन्। उनीहरूलाई तत्काल स्थानीय स्वास्थ्य चौकीबाट प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरास्थित पश्चिमाञ्चल अस्पतालमा रिफर गरिएको र त्यहाँ उनीहरूको उपचार भइरहेको भोर्लेटार इलाका प्रहरी कार्यालयले जनाएको छ।
अविरल वर्षाका कारण कुलोको डिल भासिएर एक्कासि घरमाथि पहिरो खस्दा मानवीय क्षति हुन पुगेको हो। यस घटनाले स्थानीय क्षेत्रमा शोकको वातावरण छाएको छ। मनसुनको समयमा यस्ता प्राकृतिक प्रकोपको उच्च जोखिम रहने भएकाले संवेदनशील क्षेत्रका बासिन्दाहरूलाई विशेष सावधानी अपनाउन स्थानीय प्रशासनले पुनः आग्रह गरेको छ।




