चितवन । जिल्ला हुलाक कार्यालय चितवनले गत आर्थिक वर्षमा एक करोड नौ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयले हुलाक टिकट बिक्री, काउन्टर अटोमेसन, पार्सल तथा रोयल्टीलगायतका विभिन्न सेवा शुल्कबाट उक्त परिमाणमा राजस्व सङ्कलन गरेको हो। सङ्कलित राजस्वमध्ये हुलाक टिकट बिक्रीबाट ५८ लाख ७२ हजार रुपैयाँ र अन्य विभिन्न सेवा शुल्कबाट ५० लाख ४४ हजार रुपैयाँ प्राप्त भएको छ।
गत आर्थिक वर्षमा कार्यालयले ९१ दशमलव ११ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। विनियोजित कुल ६ करोड ३३ लाख ६१ हजार रुपैयाँ बजेटमध्ये ५ करोड ७७ लाख ३२ हजार रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ। सरकारको निर्णयअनुसार जिल्लाका ६ वटा स्थानीय तहहरू राप्ती, खैरहनी, रत्ननगर, कालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा ‘एक स्थानीय तह, एक हुलाक’ को नयाँ साङ्गठनिक ढाँचाअनुसार सेवा प्रवाह भइरहेको छ। साथै भरतपुर महानगरपालिकाभित्र चनौली, जगतपुर र नारायणगढ गरी तीन काउन्टर तथा १२ वटा अतिरिक्त हुलाक कार्यालयमार्फत सेवा दिइँदै आएको छ।
यसैगरी सञ्चार क्षेत्रतर्फ कार्यालयले जिल्लाका ३५ वटा सञ्चारमाध्यमलाई ६० लाख २४ हजार रुपैयाँ लोककल्याणकारी विज्ञापनबापत भुक्तानी दिएको छ। सोही अवधिमा १७ वटा एफएम रेडियोको नवीकरण, २२ जना पत्रकारलाई प्रेस परिचयपत्र वितरण तथा १९ वटा अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणसम्बन्धी कार्य सम्पन्न गरिएको छ।




