नेपाल टेलिकमको नयाँ सिम अब घरमै पुग्ने, अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौँ । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको सहजताका लागि नयाँ प्रिपेड फिजिकल सिमकार्ड घरदैलोमै उपलब्ध गराउने गरी ‘हुलाक सिम सेवा’ औपचारिक रूपमा सुरु गरेको छ । अब सेवाग्राहीले टेलिकमको काउन्टरमा लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति पाउँदै अनलाइन आवेदनमार्फत हुलाकमार्फत आफ्नै ठेगानामा सिम प्राप्त गर्न सक्नेछन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले एक विशेष समारोहका बीच यस नवीनतम सेवाको शुभारम्भ गरेका हुन् । सो अवसरमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र हुलाक सेवा विभागकी महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले पहिलो ऐतिहासिक ग्राहकका रूपमा मन्त्री तिमिल्सिनालाई सिम हस्तान्तरण गरेका थिए । मन्त्री तिमिल्सिनाले सरकारी सेवालाई प्रविधिमैत्री बनाउँदै नागरिकको घरदैलोसम्म पुर्‍याउने सरकारको लक्ष्यमा यो सहकार्य कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

सञ्चार मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुमार पौडेलले वर्तमान पुस्ताको आवश्यकता अनुरूप सरकारी हुलाक संयन्त्रमार्फत सेवा विस्तार हुनु प्रशंसनीय रहेको बताए । यस्तै, प्रबन्ध निर्देशक संगीता पहाडीले दुर्गम तथा सडक पहुँच नपुगेका ग्रामीण क्षेत्रका नागरिकसम्म समेत टेलिकमको सेवा विस्तार गर्न यो कदम प्रभावकारी हुने बताइन् । हुलाक सेवा विभागकी महानिर्देशक पंगेनीले ग्रामीण भेगमा टेलिकमका सेवा पुर्‍याउन हुलाकले सेतुको काम गर्ने स्पष्ट पारिन् ।

यो सेवा प्राप्त गर्न ग्राहकले नेपाल टेलिकमको आधिकारिक वेबसाइट (www.ntc.net.np) मार्फत उपलब्ध पोर्टलमा गइ आवश्यक व्यक्तिगत विवरण, पासपोर्ट साइजको फोटो तथा नागरिकता वा राहदानीको स्पष्ट प्रतिलिपि अपलोड गर्नुपर्नेछ । कागजात प्रमाणीकरण भएपछि सिमबापत रु. ९० र हुलाक डेलिभरीबापत रु. ७० गरी जम्मा रु. १६० जुनसुकै डिजिटल वालेट वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्न सकिनेछ । भुक्तानीपश्चात् प्राप्त हुने एक्टिभेसन कोड सुरक्षित राख्नुपर्ने र घरमा सिम प्राप्त भएपछि सोही कोडमार्फत सिम सक्रिय गर्न सकिने टेलिकमले जनाएको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा